KANUN NEWS १३ फाल्गुन २०८२, मंगलवार

मौद्रिक नीति निकै सन्तुलित– नेपाल बैंकर्स संघ


काठमाडौं । नेपाल बैंकर्स संघले मौद्रिक नीतिलाई स्वागत गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै संघले मौद्रिक नीति निकै सन्तुलित रहेको बताएको छ ।

“जुन खालको परिस्थितिमा हामी छौं, सो परिस्थितिअनुसार मौद्रिक नीति निकै सन्तुलित आएको छ”, पत्रकार सम्मेलनमा बैंकर्स संघका अध्यक्ष समेत रहेका एनएमबी बैंकका सिईओ सुनिल केसीले भने, “विद्यमान आर्थिक चुनौतिलाई पनि यसले सम्बोधन गर्न निकै ठूलो भूमिका खेल्नेछ भन्ने विश्वास लिन सकिन्छ ।”

मौद्रिक नीतिका व्यवस्थाप्रति बैंकर्स संघको असहमति रहेपनि परिस्थितिअनुसार निकै सन्तुलित आएको उनको भनाई छ । उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखिएको भन्दै केसीले मौद्रिक नीतिको प्रसंशा गरे ।

“विद्यमान परिस्थितिअनुसार उत्पादनमूलक क्षेत्रलाई अगाडि बढाउनुपर्ने थियो, जसरी मौद्रिक नीतिले सम्बोधन ग¥यो यो निकै सराहनीय कुरा हो”, केसीले भनेका छन्, “यसले समग्र ‘इको साइकल’लाई व्यवस्थित गर्ने अपेक्षा गर्न सकिन्छ ।”

उद्योगीहरु निराश देखिएको सन्दर्भमा मौद्रिक नीतिले समग्र क्षेत्र चलायमान हुने बैंकर्स संघको भनाई छ । “ब्याजदर घट्दो क्रममा छ, अझै घट्ने देखिन्छ, चालुपूँजी कर्जा मार्गदर्शनमा पनि पुनरवलोकन गर्ने भनिएको छ । यसले सिजनल व्यवसाय, धेरै समयको चालुपूँजी आवश्यक पर्नेहरूलाई सहयोग गर्छ भन्ने लाग्छ”, संघका अध्यक्ष केसीले भनेका छन् ।