काठमाडौँ । घुस लिएको अभियोगमा विशेष अदालतको आदेशअनुसार थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ताले दायर गरेको निवेदन सर्वोच्च अदालतमा सुनुवाइमा जाने भएको छ। पोखराको लिचीबारी जग्गा प्रकरणसँग जोडिएको भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेशविरुद्ध गुप्ता सर्वोच्च पुगेका हुन्।
उनको निवेदन सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेशी तोकिएको छ। यसअघि सर्वोच्चले निवेदनको प्रारम्भिक अध्ययनपछि विशेष अदालतसँग कैफियत प्रतिवेदन माग्ने आदेश दिएको थियो।
लिचीबारी जग्गा भ्रष्टाचार प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री रहेका गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य नियुक्ति गराइदिने आश्वासन दिँदै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको दाबी गरेको छ।