KANUN NEWS २७ बैशाख २०८३, शनिबार

इस्तानबुल बारको बहादुरी



लोकतन्त्रको सच्चा परीक्षा संविधानका सुन्दर वाक्यांशहरूमा होइन, बरु राज्यले आफूमाथि उठेका असहज प्रश्नहरूलाई कसरी व्यवहार गर्छ भन्नेमा हुन्छ। टर्कीको इस्तानबुल बार एसोसिएसनका अध्यक्ष प्रोफेसर इब्राहिम ओज्देन काबोग्लु (İbrahim Özden Kaboğlu) को हालैको संघर्ष यो कुराको जीवन्त प्रमाण हो। एक प्रतिष्ठित संविधानविद् र मानवअधिकारका योद्धा काबोग्लुले केवल एउटा मानवीय वक्तव्य जारी गरेकै कारण राज्यको शक्तिशाली मेसिनरीको निशानामा पर्नुपरेको थियो। यो प्रकरणले विश्वका कानुनी समुदायलाई झक्झक्याउनुका साथै बार एसोसिएसनको स्वायत्तता, अभिव्यक्ति स्वतन्त्रता र विधिको शासनमाथि नै गम्भीर प्रश्न उठाएको थियो। प्रोफेसर काबोग्लु टर्कीका एक सम्मानित शैक्षिक व्यक्तित्व हुन्, जसले वर्षौंदेखि शक्ति सन्तुलन, न्यायिक स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा आलोचनात्मक आवाज उठाउँदै आएका छन्। सन् २०२४ को अक्टोबरमा ६० हजारभन्दा बढी वकिलहरू सदस्य भएको इस्तानबुल बार एसोसिएसनको अध्यक्षमा निर्वाचित हुनु उनको व्यक्तिगत विजय मात्र थिएन, बरु यो राज्यको बढ्दो नियन्त्रणविरुद्ध कानुनी समुदायको सशक्त सन्देश थियो। तर यही निर्वाचनपश्चात् उनी र उनको टिम राज्य संयन्त्रका लागि असहज बन्न पुग्यो र उनीहरू निशानामा परे।