कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसन (नेवाए) हो। बाइस हजारभन्दा बढी कानुन व्यवसायी र ९५ भन्दा बढी बार एकाइहरू यो साझा संगठनमा आबद्ध रहेका छन्। वरिष्ठ अधिवक्ता प्रा. डा. विजय प्रसाद मिश्र अध्यक्ष र वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला महासचिव सहितको केन्द्रीय समिति क्रियाशील छ। यो संस्था कानुन व्यवसायी देवनाथ कुमार बर्मा (रौतहट) को अध्यक्षतामा २०१३ साल पुस ७ गते स्थापना गरिएको हो। २०५० साल फागुन ६ गते पोखरामा सम्पन्न भएको नेवाएको छैटौँ सम्मेलनले एक प्रस्ताव पारित गरी एसोसिएसनको जन्म भएको दिनको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्षको पुस ७ गतेका दिन औपचारिक रूपमा बार दिवस वा बार डे मनाउने गरिएको छ। “सामाजिक रूपान्तरण र समृद्धि: न्यायपालिका र बारको जनआस्थामा अभिवृद्धि” भन्ने नाराका साथ यस वर्ष पुस ७ गते विविध कार्यक्रम गरी बार डे २०८२ मनाइँदै छ।