KANUN NEWS २८ बैशाख २०८३, आईतवार

तामाकोशीका सञ्जीव सार्कीको हत्याको थप अनुसन्धानको माग गर्दै पीडित परिवारले दिए न्यायपरिषद्मा उजुरी



काठमाडौं । दोलखाको तामाकोसी गाउँपालिका ३ का सञ्जीव सार्कीको हत्याको विषयमा थप अनुसन्धानको माग गर्दै पीडित परिवारले बुधबार न्यायपरिषद्मा निवेदन दिएका छन् । २०८० मंसिर १६ गते तामाकोसी गाउँपालिकाको वडा नं ३ स्थित जम्बोटे जङ्गलमा भरुवा बन्दुकको गोली लागेर सार्कीको मृत्यु भएको परिवारको दावी छ ।

पीडितका परिवारले उक्त घटनामा स्थानीय माधव पोखरेल, सञ्जीव पोखरेल, अविदित कार्की, रचेश मङ्ग्राती र २ जना नाबालक संलग्न रहेको किटानी जाहेरी दिएका थिए । प्रहरीले उनीहरूलाई पक्राउ गरि बयान लिएर सार्कीको हत्या अभियोगमा दोलखा जिल्ला अदालतमा मुद्दा चलाएको थियो । जिल्ला अदालतले प्रतिवादीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । तर उच्च अदालत पाटनका न्यायाधीश श्यामजी प्रधान तथा न्यायाधीश कृष्णराम कोइरालाले इजलासले आरोपितहरूलाई ५ लाख र ३ लाख धरौटीमा छाड्ने आदेश दिएको भन्दै मृतकका परिवारले घटनाको पुन छानबिन गर्न न्यायपरिषद्लाई गुहारेका हुन ।