KANUN NEWS २८ बैशाख २०८३, आईतवार

लाइसेन्स अनियमिततामा अख्तियारको छापा : चाबहिल यातायात कार्यालयका प्रमुखसहित २५ मोबाइल बरामद



काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा मारेको छ।

आयोगका अनुसार लाइसेन्सको लिखित परीक्षामा असफल भएका सेवाग्राहीहरूलाई तोकिएको तीन महिनाको अवधि नपुगेकै अवस्थामा पुनः परीक्षामा सहभागी गराइदिने नाममा घुस असुली भएको उजुरी र सूचनाका आधारमा टंगालस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले अनुसन्धान थालेको हो।

छानबिनका क्रममा यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुख अधिकृत पेशल कुमार पोखरेलसहित १७ जना कर्मचारीका २५ थान मोबाइल फोन बरामद गरिएको आयोगले जनाएको छ। साथै उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक डोरहरि नेपालसहित ३ जनाका ३ थान मोबाइल फोन पनि नियन्त्रणमा लिइएको छ।