KANUN NEWS २८ बैशाख २०८३, आईतवार

न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ: महान्यायाधिवक्ता



काठमाडौँ । सरकारको कानुनी सल्लाहकारका रुपमा महान्यायाधिवक्ता रमेश बडालको नियुक्ति भएको आज एक वर्ष पूरा भएको छ । उहाँको २०८२ साउन २ गते नियुक्ति भएको थियो । सरकारलाई कानुनी राय दिने र सरकारवादी मुद्दाको अभियोजन गर्ने महान्यायाधिवक्ताको मुख्य काम हो । प्रस्तुत छ, दोस्रो कार्यकालका रुपमा नियुक्ति हुनुभएका महान्यायाधिवक्ता रमेश बडालले एक वर्षमा गरेका कामका विषयमा रासस समाचारदाता कालिका खड्काले गरेको कुराकानी:
तपाईंको दोस्रो कार्यकालको एक वर्ष पूरा भएको छ । यस अवधिमा तपाईंको प्रमुख उपलब्धि केलाई मान्नुहुन्छ ?
पहिलो कार्यकाल राजनीतिक अस्थिरता र कोरोनाको महामारीका कारण बन्दाबन्दी थियो । २०७७ चैतमा नियुक्ति भएर असारमा नै सकिएको थियो । करिब तीन महिना मात्रै काम गर्न मौका मिल्यो । छोटो अवधिमा दुई महत्वपूर्ण काम भएको थियो । महान्यायाधिवक्ता कार्यालयको तेस्रो रणनीतिक योजना बनेको थियो । त्यो आज पनि कार्यान्वयन भइरहेको छ । दोस्रो सरकारवादी फौजदारी मुद्दामा कानुन मिलापात्र गर्ने व्यवस्था थियो । चेक अनादरको विषयमा सरकारवादी फौजदारी मुद्दा भएर गएमा मिलापत्र हुने व्यवस्था थिएन । अहिले त्यसलाई खुल्ला गरियो । त्यसको असर अहिले राम्रो छ । अदालतबाट पनि स्वीकार भयो ।