काठमाडौँ, ९ जेठः नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले वर्तमान शासन व्यवस्थालाई कम खर्चिलो बनाउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य रिजाल प्रतिनिधिसभामा एक सय ६५ जना सदस्य भए सभा पूर्ण हुने तर्क गर्नुहुन्छ ।
तपाईँको पछिल्लो संसदीय अभ्यासको अनुभव कस्तो भइरहेको छ ?
मसँग यसअघि पनि संसद्को अनुभव छ । तर, अहिलेको संसदीय गतिविधि हेर्दा सक्रियताका साथ अगाडि बढिरहेको छ । संसद् पछिल्लो समयमा कानुन निर्माणको पाटोमा अलि बढी सक्रिय छ । अहिले बर्खे अधिवेशन चलिरहेको छ । यो अधिवेशन बजेट अधिवेशन हो । सरकारले ल्याएको नीति तथा कार्याक्रममाथि पर्याप्त छलफलपछि पारित भएको छ । सँगसँगै संसद्ले कान्न निर्माणलाई पनि प्राथमिकता दिएको छ । सदनमा जनताका जल्दाबल्दा सवाल पनि उठिरहेकै छ । कतिपय जनताका सवाललाई सरकारले सम्बोधन पनि गरेको छ । संसद्ले अस्थिरताका बीच दुई ठूला दल सम्मिलित स्थिर सरकार दिएको छ ।