काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियासँग कानुन निर्माण, संसदीय गतिविधि, संविधान कार्यान्वयन तथा संशोधन र तीन तहका सरकारबीचको कानुन निर्माणलगायत समसामयिक विषयमा लिइएको अन्तर्वार्ताको सम्पादित अंश:
वर्तमान सरकार गठन भएको एक वर्ष हुन लाग्यो, यो अवधिका उल्लेखनीय उपलब्धि बताउनुहुन्छ ?
नयाँ सरकार बनेपछि सबैभन्दा महत्त्वपूर्ण काम सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक (टिआरसी) कानुन पास भएको छ । यो धेरै लामो समयदेखि अड्किएर बसेको थियो । त्यसपछि सत्य, निरूपण र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन भएको छ । ती आयोगले काम सुरु गरिसकेका छन् । हामीले फौजदारी देवानी कार्यसंहितासम्बन्धी धेरै कानुन बनाएका छौँ । जुन पहिला सर्वोच्च अदालतले पनि पटक पटक आफ्नो फैसलामा सुनाएको नजिरमा आएको विषय हो । सर्वोच्चको आदेशपछि विभिन्न कमिटीले सिफारिस गरेको कानुन बनाउने क्रममा छौँ । उदाहरणका लागि लामो समयदेखि विभिन्न कोणबाट उठिरहेको विवाहको उमेरसम्बन्धी कानुन । त्यो नहुँदा अभिभावकको सहमतिमा भएको विवाहमा पनि बलात्कार, शरीर बन्धक मुद्दा लाग्ने र जेल बस्नुपर्ने बाध्यता आएपछि कानुन संशोधनको प्रक्रिया अघि बढाएका हौँ । यीलगायत धेरै संशोधन मन्त्रालयले दुईचार दिनमा मन्त्रिपरिषद्मा लैजाँदैछ । ती संशोधन विधेयक केही समयपछि संसद्मा प्रस्तुत हुनेछन् ।